Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

नयाँ वर्ष २०७७ को अवसरमा उपकुलपतिज्यूको शुभकामना संदेश

Published Date: 2020-04-12, Sunday

नयाँ वर्ष २०७७ को अवसरमा उपकुलपतिज्यूको शुभकामना संदेश

कोरोना भाइरस (COVID 19) को महाव्याधीका कारण समग्र मानव जगत नै आक्रान्त रहेको बेला हामी नयाँ वर्ष २०७७ आरम्भ गर्न गइरहेका छौँ। यो अकल्पनीय विपद्लाई सामना गर्दै नियमित कामहरूलाई निरन्तरता दिन हामीलाई थप हौसला र ऊर्जा चाहिएको छ। विश्वविद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, पदाधिकारी, अभिभावक, अलुम्नाईलगायत अन्य हितैषीहरूबिच न्यानो शुभकामना आदान-प्रदान तथा सु-स्वास्थ्यको कामनामार्फत् भविष्यका कठिनाइहरूसँग जुध्ने प्रेरणा बटुल्नु आजको आवश्यकता रहेको छ।

हामी सदाझैँ एकतावद्ध भएर आ-आफ्नो ठाउँबाट सम्भव भएका कामहरू गरिरहेका छौँ। हाम्रा प्राध्यापक र विद्यार्थीहरू पठनपाठनको वैकल्पिक व्यवस्थाका रूपमा अनलाइन कक्षाहरू संचालन गरी एक-अर्काको समयलाई रचनात्मक बनाइरहनु भएको छ। केही विभागहरू कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याइरहेका छन्। विद्यार्थीहरूको ठूलो समूह स्वयमसेवकका रूपमा समुदायमा उपश्थित छन्। स्कूल अफ मेडिकल साइन्सेज, धुलिखेल अस्पताल तथा यसका आउटरिच सेन्टरहरूमार्फत् हामीले महामारी नियन्त्रण, परीक्षण तथा उपचारको जिम्मेवारीलाई विशेष चुनौती तथा अवसरको रूपमा स्वीकार गरिसकेका छौं।

यसैबिच संस्थागत मूल्य-मान्यतालाई शिरोपर गरी विपद्को बेला अहोरात्र खट्ने विश्वविद्यालय परिवारका सदस्यहरू, हामीलाई निरन्तर हौसला प्रदान गर्ने संघीय तथा प्रदेश सरकारका निकायहरू, समुदायका सदस्यहरूलगायत सम्पूर्ण सुभेच्छुकहरूप्रति विश्वविद्यालयका तर्फबाट आभार प्रकट गर्न चाहन्छु, साथै नयाँ वर्ष २०७७ को उपलक्ष्यमा हार्दिक शुभकामना अर्पण गर्दछु ।

प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ

उपकुलपति,

काठमाडौँ विश्वविद्यालय


Category: Notice
Last Updated Date: 2020-04-14,Tuesday
Published By: Kathmandu University