काठमाडौं विश्वविद्यालयमा एकेडेमीया–इन्डष्ट्रि भेला सम्पन्न

Published Date: 2024-01-01, Monday

Image

काठमाडौं विश्वविद्यालयले शिक्षा र व्यावसायिकतालाई जोड्ने उद्देश्यले एकेडेमीया–इन्डस्ट्री भेला सम्पन्न गरेको छ । विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा एकेडेमिया ईन्डष्ट्रि सहकार्य विभाग, केयूले शुक्रबार आयोजित कार्यक्रममा शैक्षिक निकाय, उद्योग र सरकारका प्रतिनिधिले विमर्श गरे । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्ले लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले पुँजी, प्रविधि, श्रम आदिको अन्तर्राष्ट्रियकरण भएको अहिलेको अवस्थामा लोकतान्त्रिक स्थिरता अत्यावश्यक भएको बताए । उपकुलपति थापाले शिक्षालाई उद्योगसँग जोड्ने सन्दर्भमा विश्वविद्यालयले तीन मुख्य विषयमा ध्यान केन्द्रित गरेको बताए । “शैक्षिक संस्था, उद्योग र सरकार मिलेर नै रोजगारी सिर्जना गर्दै मुलुकलाई समृृद्ध पार्न सकिन्छ,” थापाले भने । रजिष्ट्रार वाग्लेले शिक्षा, पारिवारिक जीवन र राष्ट्र विकासको अन्योन्यास्रित सम्बन्ध रहेको बताए । वाग्लेले काठमाडौं विश्वविद्यालयले देशभरका कार्यरत चिकित्सकमध्ये करीब आधा जनशक्ति उत्पादन गरेको विषयमा प्रकाश पार्दै त्यसबाट चिकित्सा उद्योगमा उत्पन्न भएका अवसरको चर्चा गरे । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले औद्योगिक विकासमा सरकारका प्रतिबद्धता र प्रयासबारे प्रकाश पारे । उनले उद्योगमा सकारात्मक प्रभाव पर्नेगरी सफ्टवेयरको निर्माण, इकमर्ससम्बन्धी नीति, तथा अन्य कानून निर्माणको तयारी मन्त्रालयले गरिरहेको बताए । सुर कृष्ण वैद्यले आफ्नो मूल सम्भाषणमा विश्वविद्यालय, उद्योग र सरकारको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै केन्द्रिय र प्रादेशिक सरकारहरुबीच शक्ति बाँडफाँट, बैंकिङ तथा वित्तीय प्रणाली, र शिक्षा लगायतका विषयमा नयाँ कानून तथा नीति तर्जुमा गर्नुपर्ने बताए । पूर्व अर्थमन्त्री पाण्डेले शिक्षालाई देशको आर्थिक विकासको मूल अवयवको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरे । शिक्षामा बजेट थप गर्नुपर्नेमा जोड दिँदै पाण्डेले दूरगामी शिक्षाको अवधारण लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयको एकेडेमीया–इन्डस्ट्री सहकार्य विभागका संयोजक डा. राम लामाले विश्वविद्यालयले प्रविधि, हरित उर्जा, रोजगारी प्रवद्र्धन आदि क्षेत्रमा विशेष अनुसन्धान तथा नवप्रवर्तनका कार्यक्रम लागु गरेको बताए । डा. लामाले कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्न सरकारका विभिन्न निकायसँग बृहत् छलफल तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।


Category: News
Last Updated Date: 2024-01-01,Monday
Published By: Kathmandu University