पुस्तक सार्वजनिक (A Journey Uphill - The Making of Kathmandu University)

Published Date: 2023-03-22, Wednesday

Image

 

यही २०७९ साल चैत ५ गते आइतबार काठमाडौं विश्वविद्यालय पुस्तक प्रकाशन तथा बिक्री–वितरण समितिको आयोजनामा भएको विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालयको स्थापना र विकासका विषयमा लेखिएको पुस्तक सार्वजनिक गरियो । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माद्वारा अङ्ग्रेजी भाषामा लिखित तथा काठमाडौं विश्वविद्यालयद्वारा प्रकाशित A Journey Uphill - The Making of Kathmandu University नामक उक्त पुस्तक विश्वविद्यालयको संरक्षण समितिका पूर्वअध्यक्ष श्री दमननाथ ढुङ्गाना र संस्थापक रजिस्ट्रार प्रा. डा. सीताराम अधिकारीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उपकुलपति प्रा. डा. भोला थापाले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रममा कृतिकारका रूपबाट संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले विश्वविद्यालयको स्थापना र पुस्तक लेखनको पृष्ठभूमिका बारेमा बोल्नुभएको थियो । राजनीतिज्ञ हरिबोल गजुरेल, रजिस्ट्रार प्रा. डा. अच्युतप्रसाद वाग्ले, काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रारद्वय प्रा. डा. सीताराम अधिकारी र प्रा. डा. भद्रमान तुलाधरले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक प्रा. डा. लक्ष्मण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । स्कुल अफ म्यानेजमेन्टको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फबाट आयोजक समितिका सदस्य शेखरप्रसाद ढुङ्गानाले अतिथिहरूलाई उपहार प्रदान गर्नुभएको थियो भने आयोजक समितिका अर्का सदस्य हरि मञ्जुश्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालय पुस्तक प्रकाशन तथा बिक्री–वितरण समितिको आयोजनामा भएको यो पहिलो कार्यक्रम हो ।


Category: News
Last Updated Date: 2023-03-22,Wednesday
Published By: Kathmandu University