पहिलोपटक संस्कृत भाषाको सहकार्यपत्रमा हस्ताक्षर सम्पन्न

Published Date: 2021-11-01, Monday

Image

काठमाडौँ विश्वविद्यालयको तीस वर्षको इतिहासमा पहिलोपटक संस्कृत भाषामा सहकार्यपत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुल अन्तर्गत सञ्चालित रामानन्द अनुसन्धान केन्द्र (आरआरसी) बीच यही २०७८ साल कार्तिक १२ गते राधाअष्टमीको दिन विशेष समारोहको आयोजना गरी सहकार्यपत्रमा हस्ताक्षर गरिएको हो ।

समारोहको सभापतित्व ग्रहण गर्नुभएका काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र प्रमुख आतिथ्य ग्रहण गर्नुभएका महेश संन्यास आश्रमका पीठाधीश १००८ स्वामी श्री रमणानन्द गिरिको समुपस्थितिमा हिकासका तर्फबाट स्कुल अफ आर्ट्सका कार्यवाहक डिन सुश्री एक्कुमाया पुनले र आरआरसीका तर्फबाट महेश संस्कृत गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।

हिकासको परिचयसहित कार्यक्रमको सान्दर्भिकताबारे प्रा. डा. सागरराज शर्माले जानकारी गराउनुभएको उक्त समारोहमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्व पौडेल र पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधरले मन्तव्य व्यक्त गर्नुभएको थियो भने रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले मन्तव्यसहित धन्यवाद ज्ञापन र सभा विसर्जन गर्नुभएको थियो ।

सहकार्यपत्र हस्ताक्षर कार्यक्रम स्कुल अफ म्यानेजमेन्टको सभाकक्षमा आयोजना गरिएको थियो । सहकार्यपत्रमा पौरस्त्य भाषा, संस्कृति, दर्शन, साहित्य, सभ्यता आदि विषयमा आवश्यक अध्ययन–अनुसन्धान गर्न, लिपिविशेषज्ञ अनुसन्धाताहरू आदानप्रदान गर्न, योग, प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा, वनौषधि चिकित्सा, चुम्बकीय चिकित्सा जस्ता विषयहरूमा शैक्षिक तथा अन्वेषणात्मक कार्यक्रमहरू सञ्चालन गर्न सहकार्य गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित ‘पुर्ख्यौली विज्ञान’ नामक पुस्तक सभापति काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र प्रमुख अतिथि महेश संन्यास आश्रमका पीठाधीश १००८ स्वामी श्री रमणानन्द गिरिबाट संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । उक्त कृतिमाथि प्रा. शिवगोपाल रिसाल र डा. गोविन्दशरण उपाध्यायले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा मञ्चस्थ व्यक्तिहरूलाई रुद्राक्षको माला अर्पण म्यानेजर महेन्द्रकुमार निरौलाले र कार्यक्रमको सञ्चालन नेपाली भाषा सम्पादक हरि मञ्जुश्रीले गर्नुभएको थियो ।


Category: News
Last Updated Date: 2021-11-01,Monday
Published By: Kathmandu University