Press Release of 63 Senate Meeting

Published Date: 2013-05-03, Friday

Image

प्रेस वक्तव्य

२०७० साल वैशाख २० गते शुक्रबार

काठमाडौँ विश्वविद्यालय सभाको ६३ औँ बैठक आज मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष एवं कुलपति श्री खिलराज रेग्मीज्यूको अध्यक्षतामा बस्यो । सभामा माननीय शिक्षामन्त्री तथा सहकुलपति श्री माधव पौडेलज्यूको पनि उपस्थिति थियो । सभाका ३२ सदस्यमध्ये २६ जनाको उपस्थिति थियो ।

उक्त सभालाई सम्बोधन गर्दै कुलपतिज्यूले भन्नुभयो — “हामी सबैको उद्देश्य सफल समृद्ध र सभ्य राष्ट्र निर्माण गरी प्रत्येक नागरिकको जीवनस्तर वृद्धि गर्नु हो । यसका लागि आर्थिक विकासको भूमिकाले मात्र नहुने भएकाले शिक्षामा विशेष जोड दिनुपरेको छ । आर्थिक समृद्धिले मानिसको भौतिक आवश्यकताहरूको परिपूर्ति गर्न सहयोग गर्ने भए तापनि मानिसको जीवनशैली र सामाजिक व्यवहारमा परिवर्तनका लागि शिक्षा नै एकमात्र माध्यम हो । त्यसैले शिक्षाको समग्र विकासमा हाम्रा प्रयासहरू सदैव केन्द्रित हुनुपर्दछ ।”

“विगत लामो समयदेखि हालसम्म आइपुग्दा नेपाली समाजको शैक्षिक विकासलाई हामीहरूले सन्तोषप्रद मान्नुपर्ने हुन्छ । नेपाली नागरिकहरूको उच्च शिक्षामा रहेको पहुँचको हालको स्थिति हेर्दा हामीले शिक्षित जनशक्ति उत्पादनमा सन्तोषजनक सफलता हासिल गरेको भए तापनि आफ्नो जनशक्तिको समुचित लाभ लिन नसकेको वास्तविकतालाई पनि एकैसाथ स्वीकार गर्नुपर्ने हुन्छ । यस अर्थमा हामीसँग दुई भिन्न प्रकारका चुनौती छन् । पहिलो ः हाम्रो शिक्षामा भएको लगानीअनुरूपको उपलब्धि हासिल गर्न नसकेका कारण नागरिकलाई सेवासुविधा प्रदान गर्ने संयन्त्रहरूको परिचालन गर्न सकेका छैनौँ, दोस्रो ः हाम्रो युवा जनशक्ति जिम्मेवारी र भूमिकाविहीन हुनुपरेको कारण देशको शिक्षित, दक्ष र सक्षम जनशक्तिलाई बेरोजगारीले प्रताडित बनाएको अवस्था छ र जनमानसमा नकारात्मकताले गहिरो प्रभाव पारेको वास्तविकता छ । तसर्थ आज शिक्षित बेरोजगार जनशक्तिहरूका आकाङ्क्षालाई सम्बोधन गर्दै हाम्रा युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।” — उहाँले भन्नुभयो ।

उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो — “नेपालमा हामीले लगानी गरेका जनशक्तिले विदेशमा काम गर्दा केही न्यून अङ्कमा विप्रेषण प्राप्त भए तापनि जुन जनशक्तिले नेपालमा नै रहेर कार्य गर्दा देशमा उद्योग, निर्माण, प्रविधि र आर्थिक गतिविधिहरूको विकास भई एकातर्फ भौतिक समेृद्धि पनि प्राप्त हुने र अर्कातर्फ आर्थिक समृद्धि पनि प्राप्त गर्ने अवसर हामीसँग हुन सक्छ, त्यसको तुलनामा जनशक्तिको विदेश पलायनमार्फत प्राप्त हुने आय अत्यन्त सीमित हुन्छ । ”

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठले भन्नुभयो — “काठमाडौँ विश्वविद्यालयले पछिल्लो दशकदेखि यस संस्थालाई अन्तर्राष्ट्रिय स्तरको Teaching cum Research University बनाउने लक्ष्य लिएकोमा अब हाम्रो गन्तव्य त्यही दिशातिर केन्द्रित रहनेछ र World Ranking मा यस संस्थालाई उत्कृष्ट १० हजार विश्वविद्यालयहरूमध्ये १ हजारभित्र पार्ने, एसियाली विश्वविद्यालयहरूमा ५ सयभित्र पार्ने र सार्क क्षेत्रका विश्वविद्यालयहरूमा उत्कृष्ट २५ भित्र पार्ने लक्ष्य हुनेछ ।

यस विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै कानुन र ‘पब्लिक पोलिसी’ कार्यक्रम थप गर्ने सोच रहेको छ । यस विश्वविद्यालयको अभिभावकका रूपमा संरक्षण समितिलाई बलियो बनाइनेछ र यसका लागि कानुनी संरचनामा पनि ध्यान दिइनेछ ।

एक्काइसौँ शताब्दीमा हरेक क्षेत्रमा गुणस्तरको परिभाषामा पनि परिवर्तन हुन थालेको छ । उपभोक्ताले ठीक ठह¥याएको र उपभोक्तालाई राम्रो लाग्ने वस्तु र सेवा नै गुणस्तरीय वस्तु र सेवा हो । यस अर्थमा विश्वविद्यालयका उपभोक्ता नै विद्यार्थीहरू हुने भएकाले अबका दिनहरूमा हामीले बनाउने हरेक नीति र योजनाहरूमा विद्यार्थी वर्गलाई नै केन्द्रमा राखिनेछ अर्थात् Student Friendly Management रService for Student's Satisfaction नै हाम्रो मूल मन्त्र हुनेछ ।

हाम्रो विश्वविद्यालय शिक्षा र स्वास्थ्य क्षेत्रमा अग्रणी भएकाले आगामी दिनहरूमा पनि हाम्रो मूल लक्ष्य Quality Education for Leadership अनि Quality Health Care Services for Poor हुनुपर्ने र यस दिशामा अगाडि बढ्न यहाँहरू सबैको सहयोग मिल्ने अपेक्षा गर्दछु । यसका लागि अगाडि बढ्न प्राज्ञिक स्वायत्तता अनिवार्य सर्त हुन आउँछ ।”

सभामा भएका गतिविधिहरू ः

१. सभामा उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो ।

२. कुलपति तथा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष एवं कुलपति श्री खिलराज रेग्मीज्यूले निर्देशन दिनुभयो ।

३. संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, शिक्षासचिव, अर्थसचिव, सभासद्हरू डा. मोहनमान सैँजू, पद्मज्योति, डिन प्रा. सुवास के. सी. ले आ–आफ्ना धारणाहरू व्यक्त गर्नुभयो ।

४. डा. राजेन्द्र कोजूले धन्यवाद ज्ञापन गर्नुभयो ।

सभाबाट भएका निर्णयहरू ः

१. सभामा नवनियुक्त उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठलाई हार्दिक स्वागत गर्ने तथा संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई विशेष धन्यवाद व्यक्त गर्ने निर्णय गरियो ।

२. सभाले विश्वविद्यालय सभाका सदस्य डा. समनबहादुर राजभण्डारीको निधनप्रति शोकप्रस्ताव पारित ग¥यो ।

३. आ. व. २०६८–६९ को लेखापरीक्षणको प्रतिवेदन पारित गरियो ।

४. काठमाडौँ विश्वविद्यालय, आर्थिक नियम २०४९ मा पाँचौँै संशोधन नियम, २०७० पारित गरियो ।





Category: News
Last Updated Date: 2022-02-27,Sunday
Published By: Kathmandu University