केयु स्कूल अफ एजुकेशनमा पिजिडीका विद्यार्थीहरुको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Published Date: 2022-06-19, Sunday

Image
काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनमा गत वर्षबाट सञ्चालित पोष्ट ग्राजुयट
डिप्लोमा (पिजिडी) इन एजुकेशनल म्यानेजमेन्ट कोर्षका विद्यार्थीहरुको अनुभव
संकलन गर्न एजुकेशनल लिडरशिप विभागले हालै एक अन्तर्क्रिया कार्यक्रम
आयोजना गरेको छ । हातिबनस्थित क्याम्पसमा प्रत्यक्ष र अनलाईन दुबै मोडमा
संयुक्त रुपमा आयोजित कार्यक्रममा विद्यार्थीहरु, सहायक डीन डा. धनपति सुवेदी,
विभागीय प्रमुख डा. शेषकान्त पंगेनी, पिजिडी कार्यक्रमका सम्पर्क व्यक्ति श्री विकास
घजु, तथा फ्याकल्टीहरु श्री चेतनाथ पन्त र श्री भावना श्रेष्ठको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै डा. सुवेदीले यो कोर्ष विशेष गरी विद्यालयमा
मध्यम तहका सहायक प्र.अ., कोअर्डिनेटर र भविष्यमा ती पोजिसनहरु लिन चाहने
ब्यक्तिहरुक लागि र ग्रेडको कमीका कारण मास्टर्स डिग्री पढ्न नपाएका
विद्यार्थीहरुका लागि निकै उपयोगी सावित हुने कुरा व्यक्त गरे । त्यसपछि श्री घजुले
यही अगष्ट २०२२ का लागि पिजिडी र मास्टर्समा खुलेको नयाँ भर्नाबारे
प्रस्तुतीकरण गरे । विद्यार्थीहरुको तर्फबाट आफ्नो सफलताको अनुभव सुनाउँदै श्री
सन्देश बस्नेतले भने, “दोलखाको अनकन्टार गाउँको एक विद्यालयलाई व्यवस्थित
बनाएर अहिले पाठशाला नेपाल जस्तो प्रतिष्ठित शिक्षण संस्थामा आवद्ध हुन सक्ने
क्षमता मलाई पोष्ट ग्रायजुयट डिप्लोमा कोर्षले दिएको हो, धन्यवाद छ केयु र सम्पूर्ण
शिक्षकहरुलाई ।”
त्यस्तै अर्का विद्यार्थी श्री अम्बिका थापा क्षेत्रीले हौसिँदै भने, “धुलिखेलमै जन्मिएर
हुर्किएँ र केयुकै प्रशासनमा जागिर पनि खाएँ तर मेरो शैक्षिक पृष्ठभूमि कमजोर
भएकोले सानैदेखि केयुमा पढ्ने रहर भएपनि अवसर पाएको थिइनँ तर पिजिडी
कोर्षले मेरो सपना पूरा गरिदिएको छ, म एकदम खुसी छु । सिकाइलाई उमेरले
छेक्दैन, अब म फेरी यहीँ मास्टर्स पनि गर्ने सोच बनाएको छु ।”
एक विद्यालयका शिक्षक श्री उषा थापा बोगटीले कोर्षले दिएको बहुआयामहरुका
बारेमा प्रष्ट पार्दै भने, “पिजिडी कोर्षले यस्तो इन्गेजिङ्ग गरायो कि एउटा कक्षा पनि
मिस गरिनँ । हाम्रो प्रोजेक्ट वर्क अन्तर्गत एउटा विद्यालयमा तीन दिने तालिम दिन
गएको अरु धेरै विद्यालयहरुले पनि तालिमको माग गरको थियो । अब मास्टर्स पनि
पढेर शिक्षण र तालिममा सक्रिय हुने जोश र विश्वास बढेको छ ।”
आफ्नो व्यक्तिगत र पेशागत बाध्यताका बावजुद यो कोर्ष पढ्दाको अनुभव सुनाउँदै
एक प्रोजेक्ट अफिसका कर्मचारी एलिना गुरुङ्गले भर्चुयल मार्फत भने, “साँझको
कक्षा, बसाई धुलिखेल अनि सानी छोरी । यी सबै कुराको समाधान भइदियो यो कोर्ष
। छोरीलाई काखमा राखेर भएपनि पढेँ र आज आफ्नो क्षमता, आत्मविश्वास बढेको
देख्दा निकै खुसी छु ।”
अर्का विद्यार्थी श्री सुजाता विष्टले पनि आफ्नो कठिन परिस्थितिमा यो कोर्षले
महत्वपूर्ण भूमिका खेलेको भन्दै आफ्नो विचार पोख्ने क्रममा भने, “कोभिड–१९ को
समयमा भएको मानसिक तनाव र निष्क्रिय समयलाई यो कोर्षले धेरै हदसम्म
व्यवस्थापन गरिदियो र यो कोर्ष पढ्ने मेरो निर्णय जीवनको एक सही निर्णय सावित
भएको छ । मैले स्कूलको प्रिन्सिपलबाट एकदम राम्रो प्रतिक्रिया पाएको छु र मेरो
श्रीमान् पनि निकै खुसी हुनुहुन्छ ।”
पेशाले पत्रकार श्री शिवराम थापा मगर पनि यो कोर्षको कारणले आगामी दिनमा
पत्रकारितामा मास्टर्स पढ्न पाउने भएर खुसी व्यक्त गर्दै भने, “यो कोर्ष शिक्षक,
शिक्षाका ट्रेनर, विद्यालयका कोअर्डिनेटर र प्रधानाध्यापक सबैलाई उपयुक्त छ । तर
एक वर्षको समयले मात्र नपुगेको महशुस भयो र अझ यसलाई दुई बर्षे कोर्ष बनाउन
सके धेरै राम्रो हुने मेरो विचार छ ।”
उक्त अन्तर्क्रिया कार्यक्रममा फ्याकल्टी श्रेष्ठ र कार्यक्रम सञ्चालन पनि गरेका फ्याकल्टी
पन्तले पनि आफ्ना अनुभवहरु प्रस्तुत गरे भने डा.पंगेनीले धन्यवाद ज्ञापन गर्दै
कार्यक्रम समापन गरे ।

Category: Notice
Last Updated Date: 2022-06-21,Tuesday
Published By: School of Education, Department of Educational Leadership