Published Date: 2022-06-06, Monday
धुलिखेल/२३ जेठ-पूर्व विद्यार्थीहरुको सञ्जाल “अल्मुनाइ नेटवर्क काठमाडौं विश्वविद्यालय”को पूर्व विद्यार्थीहरुको भेला गरेको छ । केन्द्रीय क्याम्पस धुलिखेलमा आइतबार एक कार्यक्रम आयोजना गरी पूर्व विद्यार्थीहरुको भेला कार्यक्रम सम्पन्न गरेको हो ।
भेलालाई मावलीको संज्ञा दिइ अनौपचारिक रुपमा कार्यक्रमको सञ्चालन प्रा.डा.हेमराज काफ्लेले गरे । कार्यक्रमको शुरुमा एएनकेयु टाक्स्फोर्सका कोअर्डिनेटर उप–प्राध्यापक रोशी लामिछानेले हालसम्म विश्वविद्यालयका सात स्कूलहरुबाट ३८,३३९ जना विद्यार्थीहरु दिक्षित भइसकेको जानकारी प्रस्तुत गरे । सन् २००६ देखि नै काठमाडौं विश्वविद्यालय अल्मुनाइ एसोशियसनको अवधारणा आए पनि विविध कारणले निरन्तरता नभएको र दुई वर्ष अघि एएनकेयुको पहिलो भेला तत्कालिन विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको स्मरण गराउँदै आज त्यसलाई मूर्तरुप दिने कार्य भएको कुरा व्यक्त गरे । साथै उनले विश्वविद्यालयसँग सहकार्य गरी पूर्व विद्यार्थीहरु ब्राण्ड एम्बेसेडर भई परोपकारी र अनुसन्धानात्मक कार्यहरुमा लाग्नुपर्ने कुरा उल्लेख गरे ।
उपकुलपति प्रा.डा. भोलाथापाले स्वागत मन्तव्य राख्दै यो अभियानलाई निरन्तरता दिन विश्वविद्यालयको भन्दा पनि आफ्नो छुट्टै कार्यक्रमको रुपमा लानु पर्ने सुझाव दिए । गत शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको सामू पनि यस विषयलाई उत्थान गरेको स्मरण गराउँदै ढिलै भएपनि पूर्व विद्यार्थीहरुको सञ्जाल थालनी भएकोमा खुसी व्यक्त गरे । उनले ४ वर्षमा विश्वविद्यालयको अक्ष्यकोषमा ५० करोड जम्मा गर्ने लक्ष्य अनुरुप हालसम्म ३० करोड जम्मा भईसकेको पनि जानकारी दिऐ । पूर्व विद्यार्थी भेलालाई वार्षिकोत्सवको रुपमा निरन्तरता दिनुपर्ने उल्लेख गर्दै विश्वविद्यालयको तर्फवाट कम्तीमा एउटा अफिस कोठाको प्रवन्ध गरिदिने प्रतिवद्धता व्याक्त गरे ।
विश्वविद्यालयका पूर्व विद्यार्थी स्कूल अफ आर्टस्का मनिष गौतमले आफ्नो स्कूलले सन् २०१६ मा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरिसकोको बताउँदैै सबै स्कूलहरुको एउटै अल्मुनाइको सट्टा छुट्टाछ्ट्टै अल्मुनाइ भए अझ राम्रो हुने विचार राखे । आफ्नो कन्सल्टेन्सीबाट अनुसन्धानकार्यमा ३००–४०० छोटो अवधिको रोजगारी सृजना गरिसकेको र स्नातकदेखि विद्यावारिधि गरेकासम्मलाई कामदिन सकेको कुरा उल्लेख गर्दै सबैले आ–आफ्नो स्थानबाट विश्वविद्यालयलाई योगदान दिनुपर्ने बताए ।
अर्का पूर्व विद्यार्थी स्कूल अफ एजुकेशनका डा. अनिल झाले सन् २०२० अप्रिल २३ मा स्कूलअफ एजुकेशनमा पूर्व विद्यार्थी सञ्जालको १३ सदस्यीय तदर्थ समिति गठन गरिसकेको जानकारी दिए । विगतमा डीन प्रा.डा. बालचन्द्र लुइँटेललाई सम्मान, टक शो लगायतका कार्यक्रमहरु गरेको उल्लेख गर्दै कोभिड १९ को कारणले सक्रिय हुन नसकेको स्मरण गराउँदै आगामी दिनहरुमा सञ्जालले विद्यार्थी र प्रशासनलाई निरन्तर सघाउने बताए ।
स्कूल अफ इन्जिनियरिङ्गका तर्फबाट नेपाल क्लियरिङ्ग हाउसका सिइओ नितेशमान सिँहले २३ बर्ष अगाडी आफूले अध्ययन गर्दा पि.एच.डी. गरेका प्राध्यापकहरु विदेशबाट बोलाउनुपर्ने स्थितिको स्मरण गराउँदै आफू र आफ्नो संस्थाबाट विश्वविद्यालयसँग सदैव सहकार्य गर्ने वाचा गरे । स्कूल अफ इन्जिनियरिङ्गकै तर्फबाट जुम्ल्याहा इन्जिनियरहरु डा.रामलामा र लक्ष्मण लामाले काठमाडौ विश्वविद्यालयले आफूहरुलाई अध्ययनको सौभाग्य प्रदान गरेकोमा कृतज्ञ भई आफ्ना निरक्षर आमा बाबुको नाममा पूर्व विद्यार्थी सञ्जाललाई ५० हजार रुपैया सहयोगको उद्घोष गरे । उनीहरु जस्तै विकट ठाउँमा रहेकालाई सबै मिलेर अध्ययनको लागि छात्रवृतिको मौका दिनुपर्ने भनाइ राखे ।
त्यसैगरी स्कूल अफ म्यानेजमेन्टका तर्फबाट अजय मिश्रले आफूले ८ वटा संस्थामा सिइओ भइकाम गरेको तर आफूले केयुलाई केही दिन नसकेकोले अभाव खड्किएको बताए । अल्मुनाइले ब्राण्ड निर्माण, स्रोत परिचालन र देशको योजना तथा नीतिगत तहमा योगदान गर्नुपर्ने कुरा व्यक्त गरे । उनले यो सञ्जालले पनि अक्ष्यकोषको स्थापना गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गरे ।
स्कूल अफ मेडिकल साइन्सेसका डा. सुजन कडरियाले आफू दिक्षित भइसके पछि फेरी यसरी केयुमा आउने अवसर आउला भनी नसोचेको धारणा व्यक्तगर्दै यस सु–अवसरको लागि अल्मुनाइ नेटवर्क र काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिए । आफ्नो स्कूलले २ हजार बढी डाक्टरहरु उत्पादन गरिसकेको तर आज सूचनाको अभावमा कम उपस्थिति रहेको गुनासो गरे । उनले सञ्जाल मार्फत् विदेशबाट आएका पूर्व विद्यार्थीहरुलाई केय्ु घुम्ने र भेटघाटको अवसर मिलाउनु पर्ने सुझाव दिए ।
स्कूल अफ लका अभिषेक झाले स्कूलको स्थापना कालका चुनौतीहरुको स्मरण गराउँदै र यस वृहत सञ्जालले प्राज्ञिक समाजको निर्माण गरी राष्ट्रिय र विश्वव्यापी लक्ष्यमा सघाउ पु¥याउन अग्रसर हुनुपर्ने धारणा राखे ।
स्कूल अफ साइन्सका डा. राजन रिजालले अल्मुनाइको भूमिकाबारे बोल्दै अमेरिकामा करोडौं डलरको हाईटेक फुटबल स्टेडियम समेत अल्मुनाइ एशोसिएशनले बनाइदिने गरेको उदाहरण दिए । आफूले भूकम्पको समयमा विदेशमा रहेर पनि केयुसँग सहकार्य गरी संकलित चन्दा परिचालन गरेको अनुभव सुनाउँदै बर्षको १ दिनमात्र यस्तो भेटघाटको कार्यक्रम गर्नु भन्दा पनि संसारको जुनसुकै कुनामा रहेका पूर्व विद्यार्थीहरुलाई सञ्जालमा समेटी यसलाई संस्थागत गर्नुपर्ने सुझाब दिए ।
रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले पहिलो अल्मुनाइ भेला प्राध्यापक, कर्मचारी संगठनहरुले गुहारेको र दोस्रो पटक कोभिड -१९ को महामारीमा सहयोगका लागि पुनःगुहारेको बताए । उनले प्राकृतिक विपत्ति जुनसुकै बेला पनि आउन सक्ने भएकोले अल्मुनाइको गठन पहिला नै हुनुपर्ने विचार व्यक्त गरे । २०२० मा केयुबाट पाँचवटा क्षेत्रको टिओआर प्राप्त गरी यस एएनकेयु ताक्सफोर्सले विधिवत् स्वीकृति पाएको जानकारी दिए । राजनीतिलाई विश्वविद्यालयबाट अलग्याउन सके केयु मात्र नभई अन्य विश्वविद्यालयहरुले पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने विचार राखे । कार्यक्रम सञ्चालक प्रा.डा. काफ्लेले कार्यक्रममा प्रतिनिधिमूलक आवाज र प्रतिवद्धता उल्लेख भएको कुरा व्यक्त गर्दै केयु गीतका साथमा कार्यक्रम अन्त भएको थियो ।